आनकान्का साङ | हामी को हौँ ?

Home / आनकान्का साङ | हामी को हौँ ?


किरात राई बान्तावा खिम नेपाल तथा विदेशमा छरिएर रहेका सम्पूर्ण किरात राई बान्तावाभाषीहरूको साझा सामाजिक संस्था हो । यसअघि वि.सं. २०५८ सालमा ‘किरात राई बान्तावा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान’ नामबाट संस्था दर्ता भई सञ्चालन हुँदै आइरहेको थियो । हाल ‘किरात राई बान्तावा खिम’ का रूपमा संस्था क्रियाशिल र बान्तावाभाषीहरूलाई संगठित गर्दै अघि बढिरहेको छ । बान्तावा खिम किरात राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको भाषिक संस्थाको रूपमा आबद्ध रहेको छ ।

नेपालको सन्दर्भमा थुप्रै किरात राई मातृभाषीहरूमध्ये बान्तावा भाषी राईहरू अधिक छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार बान्तावाभाषीहरू १,३८,००३ जना रहेका छन् । यद्यपि यो सङ्ख्या न्यून भएको जानकारहरू बताउँछन् । धेरै किरात राई भाषीहरूले राई भाषा मात्र लेखाउँदा सङ्ख्या कम हुन पुगेको बुझाइ छ । सङ्ख्यामा धेरै भएता पनि हालसम्म यस संस्थाको आफ्नै कार्यालय भवन रहेको छैन । यसले दैनिक कार्यालय सञ्चालनमा समस्या भई संस्थागत अभियानहरू प्रभावकारी र दिगो हुन सकेका छैनन् ।