नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न देश हो। यहाँ बसोबास गर्ने विभिन्न आदिवासी जनजातिहरूमध्ये किरात समुदायको इतिहास अत्यन्तै प्राचीन र गौरवपूर्ण मानिन्छ। किरात सभ्यताअन्तर्गत पर्ने राई समुदायका विभिन्न थर तथा उपसमूहमध्ये बान्तावा एक प्रमुख र ठूलो समुदाय हो। बान्तावा समुदायले आफ्नो विशिष्ट भाषा, संस्कृति, परम्परा र जीवनशैलीमार्फत नेपालको सांस्कृतिक विविधतालाई समृद्ध बनाएको छ। सोही समुदायको साझा सामाजिक संस्था नै किरात राई बान्तावा खिम हो । यसले नेपाल मुलुक मात्र नभएर विदेश तथा प्रवासमा रहेका बान्तावा समुदायलाई समेत समेटेको छ । यस अघि वि.सं. २०५८ सालमा ‘किरात बान्तावा राई भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान’ नामबाट संस्था दर्ता भई सञ्चालन हुँदै आइरहेको थियो । हाल ‘किरात राई बान्तावा खिम’का रूपमा संस्था क्रियाशिल रहेको छ । बान्तावा खिम किरात राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको भाषिक संस्थाको रूपमा आबद्ध रहेको छ ।
समुदायमा शिक्षा पहुँच विस्तार, सचेतना कार्यक्रम तथा ऐतिहासिक, भाषिक र सांस्कृतिक अध्ययन अनुसन्धानमा सहयोग गरिन्छ।
बान्तावा भाषाको संरक्षण, विकास र पुस्तान्तरणका लागि भाषा कक्षा, अनुसन्धान तथा प्रकाशन कार्यक्रम सञ्चालन गरिन्छ।
समुदायको समग्र विकासका लागि सामाजिक, आर्थिक तथा सशक्तिकरण कार्यक्रमहरू सञ्चालन गरिन्छ।
परम्परागत संस्कार, चाडपर्व, भेषभूषा तथा सांस्कृतिक अभ्यासहरूको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा काम गरिन्छ।