0 k

We've Funded

हामी को हौँ ?

किरात राई बान्तावा खिम — पहिचान र संस्कृतिको संरक्षण।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न देश हो। यहाँ बसोबास गर्ने विभिन्न आदिवासी जनजातिहरूमध्ये किरात समुदायको इतिहास अत्यन्तै प्राचीन र गौरवपूर्ण मानिन्छ। किरात सभ्यताअन्तर्गत पर्ने राई समुदायका विभिन्न थर तथा उपसमूहमध्ये बान्तावा एक प्रमुख र ठूलो समुदाय हो। बान्तावा समुदायले आफ्नो विशिष्ट भाषा, संस्कृति, परम्परा र जीवनशैलीमार्फत नेपालको सांस्कृतिक विविधतालाई समृद्ध बनाएको छ। सोही समुदायको साझा सामाजिक संस्था नै किरात राई बान्तावा खिम हो । यसले नेपाल मुलुक मात्र नभएर विदेश तथा प्रवासमा रहेका बान्तावा समुदायलाई समेत समेटेको छ । यस अघि वि.सं. २०५८ सालमा ‘किरात बान्तावा राई भाषा तथा संस्कृति उत्थान प्रतिष्ठान’ नामबाट संस्था दर्ता भई सञ्चालन हुँदै आइरहेको थियो । हाल ‘किरात राई बान्तावा खिम’का रूपमा संस्था क्रियाशिल रहेको छ । बान्तावा खिम किरात राईहरूको साझा सामाजिक संस्था किरात राई यायोक्खाको भाषिक संस्थाको रूपमा आबद्ध रहेको छ ।

नेपालको सन्दर्भमा थुप्रै किरात राई मातृभाषीहरूमध्ये बान्तावा भाषी एक हो । तथ्याङ्कअनुसार २६ वटा राई भाषीहरूमध्य सबभन्दा बढी सङ्ख्या रहेको बान्तावा भाषी हो । राष्ट्रिय जनगणना २०७८ अनुसार हाल बान्तावा भाषीहरू १,३८,००३ रहेका छन् ।

बान्तावा खिम भवन निर्माण
किरात राई बान्तावा खिमको केन्द्रीय कार्यालय भवन तथा बहुउद्देश्यीय सङ्ग्रहालय भवन प्रदेश १ को इटहरी उपमहानगरपालिका १० बरगाछीमा निर्माण भइरहेको छ । दैनिक कार्यालय सञ्चालनका साथै बान्तावा भाषा, संस्कार-संस्कृति, ऐतिहासिक सन्दर्भ, मौलिक पहिचानहरू संरक्षण र सम्बर्द्धनका लागि सम्पूर्णं बान्तावाभाषीहरूको साझा थलोको रूपमा समेत विकास गर्ने गरी एक ‘बान्तावा खिम’ (बान्तावा भवन) आवश्यक परेकोले यो संस्था ‘बान्तावा खिम’ निर्माणमा जुटेको हो ।

किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठकले प्रदेश नं. १ अन्तर्गत इटहरी उप महानगरपालिकामा बान्तावा खिम निर्माण गर्ने निर्णय अनुसार इटहरी उप महानगरपालिका वडा नं. १० ओसियन पार्क पूर्व बरगाछी टोल हाइवेबाट करिब १ किलोमिटरको दुरीमा रहेको ३ कट्ठा ८ धुर नम्बरी जमिनमा भवन निर्माण भइरहेको छ । उक्त परिसरमा दुई वटा माङखिम (चुला घर), जेष्ठ नागरिक तथा पाहुना घर पूर्व, दक्षिण साकेन्वा थान सांस्कृतिक पार्क निमार्ण सुरु भएको हो ।

बान्तावा खिमको प्रारूप
बान्तावा भाषामा खिमको अर्थ घर हो । सबैभन्दा पहिला ३ तलाको भवन भुईतलामा २५० (दुई सय पचास) जना अट्ने साँस्कृतिक हल, चमेना गृह, दोस्रो तलामा ८० जना अट्ने सेमिनार हल, केन्द्रीय कार्यालय अन्तर्गतका पाछिय संस्थाहरू र प्रवास कमिटीलाई सामुहिक अफिस र तेस्रो तलामा पुस्तकालय, संग्रहालय रहने छ । भवनको धुरीमा बाबुब राखिने छ । १३ देखि १५ जनासम्म अट्ने दुईवटा माङ्खिम, ज्येष्ठ नागरिक सँगै पाहुना घर गरी चार वटा संरचनाको गुरुयोजना अगाडी सारिएको छ । भवनको अगाडी यलम्बरको मुर्ती प्रतिस्थापन गरिनेछ । भवनको मुल गेटको दुबै पिलरमा वाबुपलगायत बान्तावा संस्कृतिजन्य सामाग्रीहरूको प्रतिस्थापन गरी आकर्षक तुल्याइने छ। साकेन्वा/साकेला थान निर्माण गरी संस्थाको जमिन वरिपरी नदी उकास जमिनलाई घेराबारा सहितको लगभग ११ करोड ३२ लाखको गुरुयोजना (डि.पी.आर.) तयार गरिएको छ ।

सहयोगदाताहरूलाई सम्मान
१. पाँच हजारसम्मका दाताहरूको नाम भवन निर्माण पश्चात प्रकाशित स्मारिकामा राखिनेछ ।
२. दश हजार देखि माथिसम्मका दाताहरूको नाम शिलालेखमा राखिने छ ।
३. पन्ध्र हजार देखि माथिसम्मका दाताहरूको दुई जनाको नाम शिलालेखमा राखिनेछ ।
४. पच्चिस हजार देखि माथिसम्मका दाताहरूलाई कदर-पत्र सहित शिलालेखमा नाम उल्लेख गरिनेछ ।
५. पैतिस हजारदेखि माथिसम्मका दाताहरूको दुई जनाको नाम शिलालेखमा लेखाई कदर-पत्र प्रदान गरिने छ ।
६. पचास हजारदेखि माथिसम्मका दाताहरूको नाम शिलालेखमा राखी ताम्रा-पत्र सहित सम्मान गरिनेछ ।
७. पैसठ्ठी हजारदेखि माथिसम्मका दाताहरूलाई ताम्रा-पत्र सहित शिलालेखमा दुई जनाको नाम उल्लेख गरिने छ ।
८. पचहत्तर हजारदेखि माथिसम्मका दाताहरूलाई काश्यपत्र सहित शिलालेखमा दुई जनाको नाम उल्लेख गरिने छ ।
९. एकानब्बे हजारदेखि माथिसम्मका दाताहरूलाई स्वर्णपत्र सहित शिलालेखमा दुई जनाको नाम उल्लेख गरिने छ ।
१०. एक लाखदेखि माथिसम्मका दाताहरूलाई स्वर्ण-पत्र सहित शिलालेखमा दुई जनाको नाम राखी खदा ओढाई सम्मान गरिने छ ।
११. एक लाख पचास हजार देखि माथिका दाताहरूलाई शिलालेखमा १ जनाको फोटो राखी सम्मान गरिने छ ।
१२. दुई लाख पचास हजारदेखि माथिका दाताहरूलाई दुई जनाको फोटो सहित शिलालेखमा राखिने छ ।
१३. पाँच लाख सम्मका दाताहरूको २ जनाको २०/२४ को फोटो शिलालेखमा विवरण सहित सेमिनार हलमा राखि सम्मान पत्र प्रदान गरिनेछ ।
१४. छ लाख पचासहजारदेखि माथिका दाताहरूलाई आकर्षक गेट वा मुल ढोका आसपास १८/२४ को फोटो शिलालेखमा राखि सम्मान
गरिने छ।
१५. दश लाख देखि माथी दिने दाताहरूको नाम पाछिय संस्थाको हललाई संयुक्त नामांकरण गरिने छ ।
१६. पन्ध्र लाख देखि माथिका दाताहरूले आफुले चाहेको व्यक्तिको नाममा हलको नामकरण गरी फोटो विवरण सहित शिला-पत्रमा राखिने छ ।
१७. बीस लाखदेखि माथिका दाताहरूले आफुले इच्छाएको व्यक्तिको नाममा सांस्कृतिक हललाई नामकरण गरी फोटो र विवरण सहित शिला- पत्रमा राखिने छ ।
१८. बत्तिस लाखदेखि माथिका दाताहरूको शालिक निर्माण गरी भवन अगाडी राखिने छ ।
१९. अन्य मृतकको सम्झनामा भवनको कोठा, फ्लाईट निर्माण गरिदिन सकिने छ ।