बान्तावा भाषी समुदायको पहिचान, संस्कृति र संस्थागत विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तीनतले बान्तावा खिम निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। कुल लागत करिब ११ करोड ३२ लाख रुपैयाँ अनुमान गरिएको यस भवनको निर्माण कार्यको लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) समेत तयार गरिएको छ।
खिमको भुईँ तलामा २५० जना अट्ने सांस्कृतिक हल र चमेना गृह, दोस्रो तलामा ८० जना अट्ने सेमिनार हल तथा केन्द्रीय कार्यालय, र तेस्रो तलामा पुस्तकालय तथा संग्रहालय निर्माण गरिने छ। साथै, ज्येष्ठ नागरिक तथा पाहुनाका लागि माङ्खिमसहित ४ वटा अलग संरचना पनि समावेश गरिएको छ।
भवनको सौन्दर्य बढाउन यलम्बरको मूर्ति, बाबुपको मूर्ति, तथा किरात राई संस्कृतिजन्य वस्तुहरू भवनको गेट र पिलरहरूमा प्रतिस्थापन गरिनेछ। साथै, साकेला थान निर्माण गरी सम्पूर्ण क्षेत्रलाई घेराबारासहित संरक्षित बनाउने योजना छ।
विशेष सम्मान योजना:
निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरूलाई विशेष सम्मान गरिने जनाइएको छ।
पाँच हजारसम्म दान गर्नेको नाम स्मारिकामा प्रकाशित गरिनेछ भने दश हजारदेखि माथि सहयोग गर्नेको नाम शिलालेखमा राखिनेछ।
उच्च योगदान गर्नेहरूलाई कदरपत्र, ताम्रपत्र, काश्यपत्र, स्वर्णपत्र तथा फोटोसहितको शिलालेखमार्फत सम्मान गरिनेछ।
बीस लाखभन्दा माथिको योगदान गर्ने दाताले सांस्कृतिक हललाई आफ्नो मनपर्ने व्यक्तिको नाममा नामकरण गर्न सक्नेछन्।
३२ लाखभन्दा माथिका दाताहरूको शालिक समेत भवन अगाडि निर्माण गरिनेछ।
समुदायका लागि ऐतिहासिक पहल:
संस्थाका प्रतिनिधिहरूका अनुसार यो खिम केवल संरचना मात्र नभई बान्तावा समुदायको एकता, इतिहास र भावनाको प्रतीक हुनेछ।
“हामी जातीय विविधतामा एकता देख्न चाहन्छौं,” उनीहरू भन्छन्, “बान्तावा खिम हामी सबैका लागि गर्वको केन्द्र बन्नेछ।”
देश–विदेशमा रहेका बान्तावा भाषी तथा अन्य सहयोगीहरूलाई सामूहिकरूपमा साथ र सहयोगको आह्वान गरिएको छ।

Leave a Reply